Image may be NSFW.
Clik here to view.
कोरोना संक्रमण फेरि बढ्न थालेपछि त्यसबाट अहिले सबैभन्दा धेरै युवा र बालबालिका प्रभावित हुन थालेका छन्। देशका कतिपय विद्यालयमा शिक्षक र विद्यार्थीहरूमा समेत संक्रमण देखिन थालेको छ।
संक्रमितमध्ये अहिलेसम्म एक बालकको मृत्यु भएको छ।
बालबालिकाको मात्रै उपचार हुने कान्ति बाल अस्पतालमा पनि अहिले केही बालबालिकाहरू संक्रमित भएर उपचार गराइरहेका छन्।
मन्त्रालयका तथ्याङ्कअनुसार कोरोनाको दास्रो लहर फैलिएयता ४ सय १२ जनाभन्दा धेरै बालबालिकाहरू संक्रमित भइसकेका छन्। यी १९ वर्ष उमेर समूहसम्मका हुन्। र, यीमध्य पनि करिब ५० प्रतिशत १० वर्षभन्दा मुनिका छन्।
निरीह सरकार
गत सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एउटा सामूहिक छलफल गरेको थियो। संक्रमण बढ्न थालेपछि र विद्यालयहरूमा पनि कोरोना छिर्न थालेपछि मन्त्रालयले विद्यालयका सञ्चालक, अभिभावक तथा स्थानीय सरकारका प्रतिनिधिहरूसँग छलफल गरेको थियो।
स्कुल बन्द गर्ने कि नगर्ने भन्ने चर्काचर्की बहसपछि कुनै निर्णय त भएन तर, तत्कालका लागि विद्यालय बन्द नगर्ने नै निर्क्योल भयो।
‘खासगरी त्यो छलफलमा हामीले विद्यालय बन्द नगर्न भनेका थियौं’ निजी विद्यालयहरूको राष्ट्रिय संगठन (एन प्याब्सन)का महासचिब सुभाष न्यौपानेका अनुसार ‘स्वास्थ्य र शिक्षाको क्षेत्र स्थानीय सरकारको पनि अधिकार भएका कारण संक्रमण देखिएका विद्यालय तत्काल बन्द गर्ने, तर देशभरका सबै विद्यालयहरू एकैपटक बन्द नगर्ने भन्ने निष्कर्ष’ निकालिएको थियो।
तर, मंगलबार स्वास्थ्य मन्त्रालयमा मन्त्री हृदयेस त्रिपाठीले काठमाडौंलगायत संक्रमण फैलिइरहेका केही जिल्लाहरूमा विद्यालय बन्द गर्नुपर्ने बताए।
लगत्तै बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकाल्यो र निरीह भाषामा भन्यो ‘बालबालिकालाई विद्यालय नपठाउनू!’
स्वास्थ्य मन्त्रालयले न शिक्षा मन्त्रालयलाई सिधै विद्यालय बन्द गर्न भनेको छ न, सरकारलाई सिफारिस गर्न सकेको छ।
मन्त्रालयले विद्यालय नखोल्न भन्न सकेन। न सरकारलाई नै सिफारिस गर्न सक्यो। बरु निरिह भाषामा अभिभावकहरूलाई विद्यार्थी विद्यालय नपठाउन अपिल गरेको छ।
‘बढी भीडभाड हुने क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसाय, सात बजेपछि सबै रेस्टुरेन्ट तथा क्लब, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिंग मल, पार्टी प्यालेस, हेल्थ क्लबलगायतका स्थलहरूमा सहभागी नहुन’ भन्दै मन्त्रालयले अपिल गरेको छ।
एनब्याब्सनका महासिचब न्यौपानेका अनुसार मन्त्रालयका यस्ता ‘सतही’ निर्णय र अपिलहरूले विद्यार्थी, अभिभावक र विद्यालयहरूलाई समेत अन्योलमा पार्ने काम गरेका छन्।
‘कि सिधै बन्द गर्ने आदेश सरकारले देओस्। स्वास्थ्य मन्त्रालय विद्यार्थी नपठाउ भन्ने, शिक्षा मन्त्रालय पढाउ भन्ने। यस्तो अन्योलका कुरा पनि हुन्छ?’ उनी भन्छन् ‘हाम्रो लागि पनि हाम्रा बालबालिकाको स्वास्थ्य नै पहिलो प्राथमिकता हो।’
उनका बितेको एक वर्ष लकडाउनका कारण शिक्षा क्षेत्र पूरै थलिएको छ। विद्यार्थीले सिक्नुपर्ने जति कुरा सिक्न पाएका छैनन्।
फेरि पनि विद्यालय बन्द गर्दा झन् वर्वादै हुने उनको भनाइ छ।
‘कोभिडलाई हाउगुजी नबनाऔं। बालबालिकाको स्वास्थ्य हाम्रो पनि पहिलो प्राथमिकता हो। हामी स्वास्थ्यका सबै मापदण्ड पूरा गर्छौं’ उनी भन्छन् ‘कोरोनासँग कति भागिरहने।
स्वास्थ्यका मापदण्ड पालना गरेर सँगसँगै बाच्न सक्नुपर्छ अब।’
उनका अनुसार जतिसुकै प्रविधि प्रविधि भनेपनि भौतिक उपस्थितिबिना नेपालजस्तो देशमा पढाइ सम्भव छैन। ‘जेसुकै भनेपनि त्यो हामीले अघिल्लो वर्ष अनुभव गरिसकेका छौं’ उनले भने ‘त्यसैले अब बचेर, स्वास्थ्य मापदण्ड पालना गरेर स्कुलमै पढ्ने हो। एकदमै गाह्रो भएको अवस्थामा मात्रै बन्द गर्ने बारेमा सोच्ने हो।’
उनले पटकपटक कोरोना संक्रमण फैलिनुको दोष विद्यालयहरूमात्रै दिन नहुने पनि बताए।
‘पटक पटक विद्यालयहरूलाई नै निशाना बनाउनु राम्रो होइन’ उनले भने ‘हाम्रो पनि पहिलो प्राथमिकता त बालबालिकाको स्वास्थ्य नै हो। त्यसपछि मात्रै शिक्षा हो। विद्यालयहरू जोखिम हुन् र त्यहीँबाट कोरोना फैलिने त्यस्ता कुनै आधार छन् भने सरकारले किन सिधै बन्द नगरेको?’
गत सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा पनि निजी विद्यालय सञ्चालकहरूले यही जवाफ दिएका थिए।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसमेत सहभागी भएको यो बैठकले ‘तत्काल स्कुल बन्द गर्नुनपर्ने’ निष्कर्ष निकालेको थियो।
‘अहिले नै मन्त्रालयले विद्यालय बन्द गरिहाल्नुपर्ने भनेको छैन। हामीले सबैसँग छलफल पनि गरेका थियौं’ मन्त्रालयका प्रवक्त्ता दीपक शर्माले भने ‘स्वास्थ्य र शिक्षामा स्थानीय सरकारको पनि उत्तिकै अधिकार हुन्छ। जोखिम भएका र प्रभावित ठाउँहरूमा स्थानीय सरकारले नै निर्णय गर्नसक्छन्।’
स्कुल बन्द गर्ने कि नगर्ने?
छिमेकी भारतका कतिपय राज्यहरूमा फेरि लकडाउन सुरु भएको छ। धेरै ठाउँमा विद्यालयहरू बन्द भइसकेका छन्। भारतमा अहिले दैनिक २ लाखजति कोरोना संक्रमित भेटिन थालेका छन्। दैनिक १ हजारजतिको मृत्यु हुन थालेको छ।
भारतसँगै जोडिएका नेपाली सिमानाका भने ह्वाङ्गै छन्। दैनिक हज्जारौं मानि आउने जाने गरिरहेका छन्।
बिहीबारदेखि त भारतको राजधानी दिल्लीमा कर्फ्यूसमेत लगाइएको छ।
सहरमा फेरि कोरोना संक्रमण बढ्न थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबारदेखि एकसाताका लागि नगरपालिका क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नेपाल–भारत सिमानाको यो सहर फेरि एकपटक ‘हटस्पट’ बन्ने खतरामा छ।
देशभरिका मान्छे अनि विदेशबाट समेत लाखौं मान्छेको आउजाउ भइरहने काठमाडौं देशकै सबैभन्दा धेरै कोरोना प्रभावित ठाउँ हो।
उपत्यकाका केही विद्यालयहरूले तेस्रो त्रैमासिक परीक्षा सकेर शनिबारसम्मका लागि विद्यालय बन्द गरेका छन्। तर ४ कक्षामुनिका कक्षामात्रै। केही विद्यालयले त्यो पनि गरेका छैनन्। नियमित स्कुल चलाइरहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, भक्त्तपुर र ललितपुरलगायत देशका विभिन्न १४ जिल्ला कोरोना संक्रमणका हिसाबले अत्यन्तै जोखिममा छन्।
कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंका अनुसार अहिले यो अस्पतालमा ३ जना कोरोना संक्रमित बालबालिकाको उपचार भइरहेको छ।
उनका अनुसार खासगरी बालबालिकामा अहिले ‘पोस्ट कोरोना सिन्ड्रोम’ देखिएको छ।
‘त्यो भनेको कोरोनाको सबै लक्षण देखिनु हो। तर, पोजेटिभ देखिँदैन। त्यस्ता पोस्ट कोरोना सिन्ड्रोम भएका बालबालिका अहिले यहाँ धेरै छन्’ उनले भने ‘अहिले बालबालिकामा कोरोना संक्रमण पहिलाको भन्दा अलि बढी देखिएको त छ तर, मिडियामा आएजस्तो ह्वार्ह्वार्ती भने केसहरू आएका छैनन्।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनका अनुसार बढी भीडभाड हुने ठाउँ कोरोना फैलिनका लागि ‘सही ठाउँ’ हुनसक्छन्।
त्यसैका आधारमा भन्ने हो भने विद्यालय पनि भीडभाड हुने एउटा ठाउँ हो। यहाँ स्वास्थ्य मापदण्ड अपनाउन सफल नभए वा कमजोरी देखिएमा विद्यार्थीहरूमा कोरोना फैलिन जोखिम हुनसक्छ।
‘अघिल्लो वर्ष कोरोना संक्रमण उकालो लाग्दै गर्दा विद्यालयहरू बन्द थिए। धेरै विद्यार्थीहरू घरमै थिए। त्यो बेला विद्यालय जाने र नजानेहरूमध्ये कसलाई कस्तो प्रकारको गम्भीर लक्षण देखिएको हो भन्ने अध्ययन हुन सकेको छैन’ उनले भने ‘त्यो बेला स्कुल जाने र नजानेबीच संक्रमण फैलिरहेको दर उस्तै देखिए हालको कोरोना भाइरस अघिल्लो लहरभन्दा आक्रामक नै भएको अनुमान गर्न सकिन्छ।’
कोरोना संक्रमित भएका कुनै कुनै बालबालिकामा अहिले ज्वरो आउने त छँदैछ, त्यसमा पनि वान्ता हुने, नाकबाट रगत नै बग्नेजस्ता नयाँ नयाँ लक्षणहरू देखिन थालेका छन्।
डा. शेरबहादुर पुनका अनुसार अहिले बालबालिकामा किन यसरी कोरोना संक्रमण बढिरहेको छ भन्नेबारेमा ‘नयाँ प्रकार’को अनुसन्धान हुन जरुरी छ।
‘कोरोना पहिलो लहरमा भन्दा हाल बालबालिकामा संक्रमण बढी देखिन थालेको हो भने विद्यालय नजाने बालबालिका के कति संक्रमित भएका छन् अध्ययन गर्न जरुरी छ। किनभने कोरोना हाल समुदाय स्तरमा रहेको हुनाले अभिभावकमार्फत् बालबालिकामा संक्रमण भइरहेको पनि हुनसक्छ’ उनले भने, ‘हाल कोरोना बालबालिकामा फैलिएको हो वा फैलिने वातावरणको कारण बढेको हो भन्ने यकिन भएको छैन।’