Image may be NSFW.
Clik here to view.
झन्डै १० महिनापछि काठमाडौं उपत्यकाका अधिकांश विद्यालय खुलेका छन्।
कोरोना महामारीबाट थलिएका विद्यालयले अब भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न थालेका हुन्।
महामारी आतंक हटिनसकेका कारण विद्यालयले विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई कसरी स्वस्थ र सुरक्षित राखेर सञ्चालन गर्ने सोचेरै कक्षा सञ्चालन गरेका छन्।
विद्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनस्वास्थ्य मापदण्डअनुसार विद्यार्थी तथा शिक्षक–कर्मचारीलाई पनि उपस्थित हुन आग्रह गरेका छन्।
विद्यार्थीहरू मास्क, फेस सिल्ड लगाएर र स्यानिटाइजर बोकेर विद्यालय आउन थालेका छन्।
Image may be NSFW.
Clik here to view.
विद्यालयले पनि सुरक्षालाई ध्यान दिएर समय तालिका मिलाएर साना र ठूला विद्यार्थीका लागि छुट्टै कक्षा सञ्चालन गरेका छन्।
तारकेश्वर नगरपालिकास्थित सनफ्लावर एकेडेमीले माघ ४ बाट विद्यालय सञ्चालन गर्न थालेको हो।
विद्यालयका प्रिसिन्सपल केशवराज शर्माले नगरपालिकाअन्तर्गत नगरकार्यपालिकाको शिक्षा शाखाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि मात्र विद्यालय सञ्चालन गर्न थालेको बताउँछन्।
मन्त्रालयले ‘विद्यालय सञ्चालन कार्यढाँचा २०७७’ जारी गरी विद्यालय सञ्चालन गर्ने सबै अधिकार स्थानीय तहलाई दिएको थियो। सोही अधिकार प्रयोग गरेर तारकेश्वर नगरपालिकाले विद्यालय खोल्न अनुमति दिएको हो।
शिक्षा शाखाले आधारभूत स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न भनेको हो।
Image may be NSFW.
Clik here to view.
शर्माका अनुसार स्थानीय सरकारले विद्यालयलाई पुनः सञ्चालन गर्दा दुई सिफ्टमा खोल्ने, चार घण्टाभन्दा बढी विद्यार्थीलाई विद्यालयमा नराख्ने, बिहान ७ देखि ११ बजेसम्म र १२ देखि ४ बजे सम्म विद्यालय खोल्ने अनुमति दिइएको छ।
नर्सरीदेखि १० सम्मका विद्यार्थी विद्यालयमा आउने भए यो तालिका अपनाउनू भन्ने निर्देशन दिइएको छ भने विद्यार्थी संख्या धेरै भए जोर–बिजोर प्रणालीअनुसार विद्यार्थी बोलाउन विद्यालयलाई सूचित गरिएको थियो।
स्थानीय सरकारले उक्त निर्देशन दिँदादिँदै प्याबसन र एनप्याब्सनको संयुक्त बैठकले हतारिएर विद्यालय नखोल्न भनिएको थियो।
निजी विद्यालयमा सबै विद्यार्थी एकैपटक आउने भएकाले ठूला विद्यार्थीलाई मात्र भौतिक उपस्थिति गराउन भनिएको हो।
एउटा बेन्चमा दुईभन्दा बढी नराख्ने, हात धुने व्यवस्था गर्नुपर्ने, कक्षा कोठा डिसइन्फेक्ट गर्नुपर्ने, स्यानिटाइजर, मास्क अनिवार्य रुपमा बोक्नुपर्ने जस्ता मापदण्ड बनाइएको छ।
Image may be NSFW.
Clik here to view.
‘डिसइन्फेक्सन गर्न महँगो पर्ने भएका कारण हामीले कक्षा कोठालाई फिनाइल छर्केर सफा गरेका छौं। विद्यार्थी घर गएपछि पनि हाम्रा स्टाफलाई फेरि सफा गर्न लगाउँछौं,’ शर्माले भने, ‘हामीले विद्यार्थीलाई ब्रेकको समय दिएका छैनौं भने खेल्न पनि जान दिएका छैनौं। त्यस्तै शौचालय पठाउँदा पनि एक/एक गरेर पठाउने गरेका छौं।’
चार घन्टासम्म विद्यार्थीलाई कक्षाकोठामै राख्ने र एउटै बेन्चमा सधैं राख्ने गरेको उनले बताए। बीचमा झोला राखेर छेउछेउमा विद्यार्थीलाई राख्ने गरिएको छ।
विद्यालयले अभिभावकसँग छलफल गरेर बालबालिकालाई बाटोमा सँगै नहिँडाउन र अँगालो हालेर हिँडेको देखिएकालाई विद्यालय आउन नमिल्ने नियम भएको जानकारी गराइसकेको छ।
‘घर फर्केपछि सकिन्छ भने नुहाउने र सकिँदैन भने हातखुट्टा धोएरमात्र परिवारसामु जानू भनेर काउन्सिलिङ गरेका छौं,’ उनले भने।
Image may be NSFW.
Clik here to view.
०००
काठमाडौं नयाँ नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयले पनि कक्षा सञ्चालन गर्न थालेको छ।
विद्यालयले कक्षा ५ देखि १२ सम्म दुई सिफ्ट गरेर अध्यापन गराउन थालेको छ भने कक्षा ४ सम्मका साना बालबालिकालाई अनलाइन माध्यमबाट नै कक्षा सञ्चालन गरिरहेको छ।
विद्यालयका संस्थापक निर्देशक मोहन कार्की विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर कक्षा सञ्चालन गरेको बताउँछन्।
हाल कक्षा ५ देखि ८ सम्मका विद्यार्थीलाई दिउँसो १ देखि ४ बजेसम्म र कक्षा ९ देखि १२ सम्मलाई बिहान ९ देखि मध्याह्न १२ बजेसम्म पढाउन थालिएको छ।
‘यो हप्तासम्मका लागि दुई सिफ्ट गरी कक्षा सञ्चालन गरेका छौं भने साना कक्षाका विद्यार्थीलाई अनलाइनमार्फत नै पढाउने निर्णय भएको छ,’ कार्कीले भने, ‘अर्को हप्ताबाट कुन मोडलबाट विद्यालय सञ्चालन गर्ने भनेर छलफल भइरहेको छ।’
जनस्वास्थ्य मापदण्डअनुसार विद्यार्थीहरु एकअर्कामा तीन फिटको दुरीमा बस्नुपर्ने नियम छ। तर, विद्यालयले कक्षा कोठामा र बाहिर विद्यार्थीलाई त्यो नियम पालना गराउन गाह्रो भइरहेको उनको भनाइ छ।
‘हामीले विद्यार्थीलाई सानो पकेट स्यानिटाइजर, मास्क र फेस सिल्ड अनिवार्य भनेका छौं भने दुरी कायम गर्न पनि निर्देश दिएका छौं। तर, बालबालिकाले यो दुरी कायम गर्न सकिरहेका छैनन्,’ उनले भने।
आफ्नो विद्यालयमा १ हजार ५ सयजति विद्यार्थी भएका कारण कक्षा कोठामा पनि विद्यार्थीलाई टाढा राख्न नसकिएको उनको भनाइ छ।
Image may be NSFW.
Clik here to view.
०००
मापदण्ड अपनाउँदा अपनाउँदै बालबालिका एकापसबाट टाढा राख्न नसकिएको भक्तपुरस्थित बाल विकास इङ्लिस सेकेन्डरी स्कुलकी शिक्षिका सिर्जना प्रजापती बताउँछिन्।
उक्त विद्यालय पुसदेखि नै सञ्चालनमा आइसकेको थियो भने भौतिक उपस्थितिमा दोस्रो त्रैमासिक परीक्षा पनि सञ्चालन गरिसकेको छ।
‘विद्यालयमा स्यानिटाइजर, मास्क अनिवार्य छ भने बालबालिकामा रुघाखोकीको समयस्या देखिए बिदा दिने गरिएको छ। तर, कक्षा कोठामा दुरी भने कायम गर्न सकिएको छैन,’ उनले भने।
झन्डै ८ सय विद्यार्थी रहेको विद्यालयमा सबै तहका विद्यार्थी भौतिक रूपमै उपस्थित भइरहेका छन्।
०००
स्वास्थ्य मन्त्रालयका अनुसार बेलायतबाट फर्किएका तीनजनामा नयाँ प्रकारको कोरोना भाइरस देखिएको छ। यो भाइरस पुरानोभन्दा बढि संक्रामक र गम्भीर हुने वैज्ञानिकहरुको भनाइ छ।
कोरोना संक्रमणबाट निको हुने दर बढ्दै गएको र सक्रिय संक्रमित कम हुँदै गएको अवस्थामा नयाँ भाइरस नेपालमा भित्रिनु र विद्यालय सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अपनाउन नसक्दा ठूलो क्षति नहोला भन्न सकिन्न।
Image may be NSFW.
Clik here to view.