स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै स्कुल नखोल्न आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण फैलिएको ठाउँहरूमा स्कुल खोल्ने बेला नभएको बताए।
‘मानिसहरू स्कुल खोल्नको लागि हतार गरिरहेका छन्। भोलि कोभिडले गरेको असरले पछुतो मान्नुपर्ने बाहेक केही हुँदैन,’ डा. गौतमले हेल्थपोस्टसँग भने, ‘५ सय भन्दा बढी संक्रिय संक्रमित भएको जिल्लाहरूमा अहिले स्कुल सन्चालन नगरौँ।’
हाल काठमाडौं, भक्तपुर, ललितपुर र कास्कीमा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन्।
डा. गौतमका अनुसार मन्त्रालयले स्कुल सन्चालनको लागि मापदण्ड बनाउने क्रममा छ।
‘हामी स्कुल कसरी सन्चालन गर्ने भन्ने विषयमा मापदण्ड बनाउनमा केन्द्रित छाैं। मन्त्रालयले मापदण्ड बनाएको आधारमा स्कुल सन्चालन गरौँ,’ डा. गौतमले भने।
धेरै जिल्लामा सक्रिय संक्रिमत थोरै छन्। जहाँ संक्रमित कम छन्, त्यस्ता जिल्लामा मापदण्ड अपनाएर स्कुल खोल्न सकिने डा. गौतमको भनाई छ।
‘जहाँ एकदमै केस कम छ। त्यस्ता ठाउँमा मापदण्ड अपनाएर विद्यालय सन्चालन गर्दा हुन्छ,’ डा. गौतमले भने , ‘धेरै संक्रमित भएको जिल्लामा अहिले अनलाइन मार्फत नै पठनपाठन गरौं।’
‘१२ कक्षाको परीक्षा सञ्चालन हुँदा ४ लाख, ११ को परीक्षा थप ४ लाख विद्यार्थी भेला भए, यही समयमा विवाह हुँदा भीडभाड, अब स्कुल खोल्ने भन्छन्। यस्ता गतिविधिले निश्चित रूपमा संक्रमण बढ्ने देखिन्छ,’ डा. गौतमले भने।
विदेशतिरको अनुभवमा पनि स्कुल– कलेज सन्चालन हुँदा संक्रमण बढेको डा. गौतमको भनाई छ।
शिक्षा मन्त्रालयले पुस १ गतेबाट स्कुल खोल्नको लागि अनुमति समेत दिएको छ।
पठनपाठन सुरू भइसकेको छ। धेरै स्थानीय तहका शैक्षिक संस्था खुलिसकेका छन्।
‘अहिले संक्रमणको दर कम भएको छ। तर, जोखिम यथावत् छ,’ डा. गौतम भन्छन्, ‘भोलि बच्चालाई संक्रमण भए त्यसको जिम्मेवारीले कसले लिन्छ?’
डा. गौतमले पहिला जस्तो भीडभाड गरेर स्कुल सन्चालन गर्न नपाइने बताए।
स्थानीय तहमा मापदण्ड बिना स्कुल सन्चालन भएका छन्।
पहिलाको जस्तो भीडभाड गरेर स्कुल चलाउने बेला होइन।
‘स्वास्थ्य मन्त्रालयले मापदण्ड बनाउने हो। तर, नियमन गर्ने निकायले यस तर्फ ध्यान दिनुपर्यो नि!’ डा.गौतमले भने।
उनको सुझाव छ, ‘कक्षा कोठमा पनि दुरी कायम गरौं। २ मिटर सकिएन भने पनि १ मिटरको दुरी कायम गर्नुपर्छ विद्यार्थीलाई अनिवार्य रूपमा मास्क लगाउने व्यवस्था गरौँ।’ उनले विद्याथीहरूलाई प्रार्थना, लाइन लगाउने क्रियाकलप नगर्न पनि आग्रह गरे।